काठमाडाैं,३१ असाेज । बडादसैँ सकिएसँगै अब तीनवटा प्रदेशमा सरकार फेरिने भएकाे छन् । प्रदेश १ र बागमती प्रदेशबाट भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत नदिएर हटाउने तयार गठबन्धनले गरेको छ । यी दुवै प्रदेशमा एमालेका मुख्यमन्त्री हटाएर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने दाउमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रहेका छन् ।
गत आइतबार बागमती प्रदेशमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेस गरिसकेकी छिन् । त्यसमा मत विभाजन भने ४ कात्तिकमा बस्ने प्रदेश सभाको बैठकबाट हुनेछ । दशैं अगाबै उनकाे पद गुम्ने स्थिति थियाे तर सभामुखकाे चलाखिले मुख्यमन्त्री भएर नै दशैं मनाउन पाइन् ।अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यको पद गुम्ने निश्चित छ । त्यस ठाउँमा नेकपा एसले राजेन्द्र पाण्डेलाई पठाउने तयारी गरेको छ ।
एमाले फुटाएर आफूलाई प्रधानमन्त्री बनाउन सघाएवापत् कांग्रेस सभापति शेरबहादुर देउवा वाग्मतीका साथ प्रदेश १ को मुख्यमन्त्री पनि माधव नेपाल समूहलाई नै दिन सहमत भएको बताइएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराइसकेका छन् । प्रदेश १ को सभा बैठक ५ कात्तिकमा बोलाइएको छ ।
एमाले विभाजनपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य पनि प्रस्ट अल्पमतमा छन् । उनको ठाउँमा माधव नेपाल समूहले राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।
त्यस्तै, गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दुई–दुईवटा प्रदेश र जनता समाजवादी पार्टी (जसपा)ले एउटा प्रदेश सरकारको नेतृत्व पाउने सहमति छ ।

