काठमाडाैं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ।फेसबुकका प्रमुख मार्क जकरबर्गले “मेटाभर्स” बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन्।उनले अहिलेको नामले “सम्भवत आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने” भएकाले नाम परिवर्तन गर्नुपरेको बताए।
मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन्, उनले भने, नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने छ। फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो।
यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन। माउ कम्पनीको नामनै परिवर्तन गरिएको हो।सन् २०१५ मा गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो।