प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत प्रस्थान

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ ।

बिहान ११ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री देउवा नेतृत्वको टोली ग्लास्गो प्रस्थान गरेको हो । पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाकाे याे पहिलो विदेश भ्रमण हाे ।टोलीमा ६ जना सचिव छन् । कोप–२६ कात्तिक १२ देखि २६ सम्म हुँदै छ ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनुहुनेछ । उहाँले विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन् । साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन् ।

बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र यूकेमा रहेका नेपालीहरूसँग भेटघाट गर्नेछन् । देउवा अक्टोबर ३१ (कात्तिक १४) मा लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

यस्तै, गोर्खा भेटेरान्स संगठनका सदस्यहरू, बेलायती सांसदहरू र नेपाली डायस्पोराका अरू सदस्यहरूसँग भेटघाट गर्नुहुनेछ ।प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५) को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा उपस्थित हुनुहुनेछ ।

प्रधानमन्त्री देउवा कात्तिक १७ मा नेपाल फर्कनेछन् ।