काठमाडौं । केहीदिन अघिसम्म होलो खुकुलो रहेको राहदानी विभागमा अहिले एक्कासी पासपोर्ट बनाउनेहरूको भीड लागेको छ। विदेश जानका लागि तत्काल आवश्यक पर्ने पासपोर्ट बनाउन मानिसहरु लामो लाइनमा बसेको देख्दा बटुवाहरु छक्क परेका छन् ।
कारोना संक्रमणले गर्दा बेरोजगारी भएका युवाहरु कामको खोजीकै लागि विदेश जान पासपोर्ट बनाउन झुम्मिएका हुन् त? पक्कै विदेश जानकै लागि पासपोर्ट बनाउन बिहान झिस्मिसेदेखि नै लाइन लाग्न पुगेका हुन् । तर, कुनै खाडी मुलुकमा रोजीरोटीकै लागि जान भनेर यस्तो मरिहत्ते गरेका होइन । अमेरिकाले खुलाएको डिभी चिठ्ठा भर्न पासपोर्ट समेत आवश्यक पर्ने व्यवस्था गरेपछि पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिएका हुन् ।राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्।पालो मिचिन्छ भन्ने डरले उनीहरु पिसाब फेर्न जानसमेत पाएका छैनन् ।
सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको देखिन्थ्यो। बिहानैदेखि लाइनमा बस्दा पनि आज पालो आउने नआउने कुनै टुङ्गो नभएको सेवाग्राहीले बताए। कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा राहदानी विभागले सरल र सहज किसिमले पासपोर्ट बनाउने व्यवस्था गर्नु उसको पनि दायित्व हो ।