भाइटीकामा रानीपोखरी १२ घण्टा खुल्ने

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । भाइटीकाका लागि यस वर्ष रानीपोखरी बिहान ६ देखि साँझ ६ बजेसम्म खुला गरिने भएको छ ।

भूकम्पका कारण क्षति भएको उक्त ऐतिहासिक सम्पदाको गत वर्ष कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन गरेकी थिए । उद्घाटनपश्चात् गत वर्ष पनि उक्त सम्पदामा सर्वसाधारणका लागि टीका लगाउन खुला गरिएको थियो ।

अन्य समयमा बन्द रहने उक्त पोखरी नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा भाइटीकाका दिन खुला गर्ने गरिन्छ । उक्त स्थानमा दाजुभाइ नभएको दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइहरुले सामूहिक रुपमा भाइटीका लगाउने गर्दछन् । यस वर्ष आगामी २० गते शनिबार भाइटीका परेको छ ।

यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनः निर्माण सम्पन्न भएको हो । उक्त दिन सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्न पाउनेछन् । भूकम्पपछि पुनः निर्माण सम्पन्न नहँदासम्मको पाँच वर्ष हरेक वर्षको तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीको रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनः निर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।