विद्युत् निर्यातको अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , ३ वर्ष अगाडि

काठमाडौँ, १६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत्् व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत्् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत्् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत्् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत्् बिक्री गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत््गृहबाट उत्पादित ३९ मेगावाट विद्युत्् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युत््गृहबाट उत्पादित विद्युत््लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत्् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ ।

प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताउनुभयो । “राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोसेढुङ्गा हो”, उहाँले भन्नुभयो ।

“हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत्गृहबाट उत्पादित विद्युत्को भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ”, मन्त्री भुसालले थप अगाडि भन्नुभयो । दुई मुलुकबीचको विद्युत् व्यापारलाई अहिलको अवस्थासम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारबाला निकायलाई धन्यवादको पात्र भएको उहाँले बताउनुभयो ।