काठमाडौं, २६ कार्तिक । नेताहरुले नेपाल आयल निगमबाट कमिसनमा भाग पाउने गरेकाले जति मुल्य बढाएपनि उनिहरुले बिरोध नगर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आरोप लगाएका छन । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कार्तिक १२ गते पेट्रोलियम मूल्यवृद्धि भयो । फेरि १५ दिन नपुग्दै कार्तिक २४ गते मूल्यवृद्धि भयो । हामीमाथि ठूलो अन्याय भएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अब सडकमा आयो । अब गाडी चल्न सक्दैन । मूल्यवृद्धि अविलम्ब फिर्ता हुनुपर्छ । हामी पनि अब कठोर निर्णय गर्छौं । आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता हुनुपर्छ । फिर्ता भएन भने हामी भाडा बढाउन बाध्य हुन्छौं । गाडी पानीले चल्दैन। उपभोक्ताका नेताहरु हामी अब चुप लागेर बस्दैनौं । आयल निगमको जिएमलाई मात्रै दोष लगाएर पनि हुँदैन ।’
महासचिब सिटौलाले नेपालका दलले नै आयल निगमलाई चलाएको आरोप पनि लगाए । उनले भने, ‘आयल निगमलाई मात्रै गाली गरेर हुन्छ ? भागबण्डा गरेका नेताहरु किन बोलका छैनन ? अविलम्ब रुपमा मूल्यवृद्धि फिर्ता होस । आयल निगमले वैज्ञानिक प्रणालीको नाममा मूल्यवृद्धि गरेको भनेको छ, तर, आम उपभोक्ता मारमा छन । पेट्रोलियम पदार्थको ५० प्रतिशत खपत गर्ने हामी यातायात व्यवसायीहरु झनै मारमा छौं । मूल्यवृद्धि अविलम्ब फिर्ता नभए हामी कठोर निर्णय लिन बाध्य हुन्छौ’ ।