प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले सभामुखलाई बुझायो ज्ञापनपत्र

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

जबरालाई पदमुक्त गर्न महाभियोगकै सहारा लिनुपर्ने स्थिति देखिएपछि बारले सभामुखलाई भेटेर पत्र मार्फत ध्यानाकर्षण गराएकाे हाे ।बारले ज्ञापनपत्रमा सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग समेत गरेकाे छ। 

 बारको टोलीले साेमबार दिउँसो २ बजे संसद् सचिवालयमा गएर सभामुख सापकोटालाई भेटेको थियो । भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।

बारको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले न्यायालयको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उनले आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको सहयोग गर्ने बचन दिएका छन् ।

सभामुखलाई ज्ञापन पत्र बुझाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारी सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।