जनविश्वास स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ । कुनै विषयमा धेरैठाउँमा समानता पनि पाइन्छ । यो लोकजीवनले लामो अनुभवबाट आर्जित गरेको ज्ञान हो । लोकविश्वासका विषयहरूमध्ये धेरैजसो विषयलाई वैज्ञानिक कसीमा राखेपनि गलत सावित हुदैनन् । तर कतिपय विषयहरु लामो समयको अन्तरालले पत्यारलाग्दा हुदैनन् । लोकविश्वासको जन्महुनुमा प्रकृति र मानव हृदयको सहकार्य देखिन्छ । मानव सभ्यताको आरम्भिक देखि नै यस्ता विश्वासहरू जन्मन थालेको अनुमान छ र २१ औँ शताब्दीमा पनि मानिसहरु जनमान्यतालाई अंगालिरहेका छन् ।
जनविश्वामसहरु मानव बुद्धि र तर्कभन्दा पनि हृदय र अनुभूतिसँग नजिक हुन्छन् । त्यसैले निरन्तर प्रचलनमा रहिरहन्छ ।
विभिन्न सन्दर्भमा गरिने लोकविश्वासका छुट्टै मुल्यमान्यता र विश्लेषण हुन्छन् । यस्तै मान्यता सपना सँगपनि जोडिएर आउँछन् । सपनाको वैज्ञानिक आधार र विश्लेषण फरक भएपनि लोकविश्वासको प्रचलन, व्याख्या र बिश्लेषण युगौंदेखि प्रचलनका आधारमा चल्दै आएको छ । जनमानसले सपनाको व्याख्यालाई जनमान्यता अनुसार स्विकार्दै आएका छन् । र सपना सम्बन्धी केही लोकविश्वास यस्ता रहेका छन् ।
सपनामा खोलो तरेको देखेमा वा उकालो उक्लेको देखेमा कार्यमा सफलता मिल्छ भन्ने लोकविश्वास छ ।
धिमाल जातिमा, सपनामा कपालमा लाउने फूल देखेमा आफ्नै श्रीमती गर्भवती भएको विश्वास गरिन्छ ।
इङ्गलैण्डमा सपनामा रगत देख्नुलाई परिवारको कुनै सदस्यको मृत्युको सूचना मानिन्छ ।
सपनामा दही खाएको देखिएमा प्रगति हुने र भात–मासु खाएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ ।
स्वप्नमा आगो लागेको देखेमा द्वन्द हुन्छ भन्ने लोकविश्वास छ ।
सपनामा हरियो घाँस काटेमा निकट भविष्यमा धन प्राप्त हुन्छ भन्ने लोकविश्वास छ ।
सपनामा रुख ढलेको वा उखेलिएको देखिएमा गाउँघरमा कसैको मृत्यु हुने वा अनिष्ट हुन्छ भन्ने विश्वास छ ।
सपनामा गाई अथवा बाच्छाबाच्छी देखियो भने त्यो धेरै शुभ हुन्छ भन्ने लोकविश्वास छ ।
अमेरिकामा सपनामा कुनै शव वा रक्तपात देखेमा भयङ्कर दुर्भाग्य भोग्नु पर्छ भन्ने विश्वास छ ।
दक्षिण अफ्रिकामा सपनामा विवाह भएको देख्नुलाई मृत्युको सूचनाको रूपमा लिने लोकविश्वास छ ।
अष्ट्रेलियामा सपनामा उल्लू देख्नुलाई शत्रुद्वारा आक्रमण हुने सूचनाको रूपमा लिने विश्वास छ ।
इटलीमा सपनामा सेतो बादल देखेमा शुभ हुने र कालो बादल देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ ।
यो सपना सम्बन्धी लोकमान्यता अर्थात जन विश्वास हो । यी सबैकुरा घटित हुन्छन् भन्नेमा सबैको एकमत छैन् । जुन समयमा यी व्याख्या र विश्लेषण गरिए, ती केहीहद सम्म त्यसवेलाको परिस्थिती, मनोसमाजिक अवस्था र युगले सान्दर्भिक थिए होलान । तर सपनाको विषयमा एकिन ब्याख्या गर्न कठिन छ र यस विषयमा विभिन्न विद्धानहरुले थुप्रै खोज अनुसन्धान र बहस समेत गरेका छन् ।

