काठमाडाैं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन भाेलिदेखि चितवनमा सुरू हुँदैछ । विदेश विभाग प्रमुख राजन भट्टराईले चार देशका ८ वटा राजनीतिक दलका १५ जना पाहुना महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने र चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएकाे बताए । कोरोनाका कारण चीनबाट प्रतिनिधिमण्डल आउन नसकेको उनले बताए ।
भारतीय जनता पार्टी (बीजेपी)का तर्फबाट पूर्वस्वास्थ्यमन्त्री डा. हर्षबर्द्धन र राष्ट्रिय सचिव हरिश द्विवेदी काठमाडौं आइपुगेका छन् । त्यस्तै, भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा मार्क्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा मार्क्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आउने नेता भट्टराईले बताए । त्यस्तै, श्रीलंकाबाट जनता भिमुक्ति पेरामुना पार्टी (जेभीपी) का भिजेथा हेराथ सहभागी हुनेछन् ।
कम्बोडियाबाट सुस यारा,बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरी काठमाडौं आइपुगेको छ । विदेश पाहुनाहरूलाई काठमाडौंमा सोल्टी होटलमा र चितवनमा ग्रीन मेनसन होटलमा पाहुनाहरूको बसोबासको व्यवस्था मिलाएको छ ।