प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो तीलगंगाबाट १० जनालाई ३३ लिटर रक्तचन्दनको तेल सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका ६ घर भई काठमाडौं महाराजगञ्ज बस्ने २३ वर्षीय घनश्याम आलेमगर, हलेसी ९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका ६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायत छन् ।
प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले बताएका छन् ।
रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ । त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको खापुङले बताएका छन् ।