एमाले अध्यक्षमा ओली र रावलबीच निर्वाचन हुने,धमाधम उम्मेदवारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

चितवन । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा नेतृत्व सर्वसम्मत हुन नसकेपछि अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै  रावलले उम्मेदवारी दर्ता गराएका छन् ।रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् ।

ओलीले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरेकाेमा रावलले उनको प्रस्तावलाई अस्वीकार  गरेपछि संशाेधित निर्वाचन कार्यतालिकाअनुसार मतदान हुन लागेकाे हाे  ।

यस्तै, घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

पछिल्लो कार्यतालिका अनुसार ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ भने उम्मेदवारका आकांक्षीलाई ९ : २० सम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ।
त्यसैगरी ९ : ३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।

गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका थिए । जसमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोख्रेल राखिएकाे थियाे । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे , रामबहादुर थापा ‘बादल’ , सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको थियाे ।

यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई प्रस्ताव गरिएकाे थियाे ।