स्कुलमा १५ वर्षीय विद्यार्थीद्वारा खुलेआम गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

Lok Bhatta Banner Headline with Image , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

मङ्गलबार अमेरिकाको नर्थ डेट्रोइटको एक विद्यालयमा १५ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा तीन विद्यार्थीको मृत्यु हुनुका साथै कम्तीमा ८ जना घाइते भएका छन् । प्रशासनले यो वर्ष अमेरिकाको विद्यालयमा भएको गोलीकाण्डको सबैभन्दा दर्दनाक घटना भएको बताएको छ । अधिकारीका अनुसार घाइतेमध्ये एक शिक्षक पनि छन् ।

ओकल्यान्ड काउन्टी सेरिफको कार्यालयले मृत्यु हुनेमा एक १६ वर्षीय विद्यार्थी, एक १४ वर्षीय र १७ वर्षीय किशोर रहेको बताएको छ । यस्तै, घाइतेमध्ये ६ जनाको अवस्था स्थिर रहेको छ भने दुई जनाको शल्यक्रिया भइरहेको छ ।

शंकास्पद एक जनालाई पक्राउ गरी उनको साथबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । तर, के कारणले गोली चलाएको हो, उनले तत्काल भनेनन् । संदिग्ध विद्यार्थीले गिरफ्तार गर्दा कुनै विरोध गरेनन् र घटनाको कारणबारे कुनै बयान दिएनन् ।

दिउँसो प्रहरीको ९११ इमर्जेन्सी नम्बरमा सयभन्दा बढी कल आएपछि गोली प्रहार गर्नेले ५ मिनेटमा १५–२० राउण्ड फायर गरेका थिए । पहिलो आपतकालीन कल भएको ५ मिनेटभित्रै संदिग्धलाई पक्राउ गरिएको उनले बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै ट्वीटरमा भनेका छन् – अक्सफोर्ड, मिशिगन घटनामा आफ्ना प्रियजन गुमाउनु परेको अकल्पनीय पीडाको अनुभूति गर्दै परिवारसँग उभिएको छु । म यस दुखद विद्यालय गोलाबारी घटनाको सम्बन्धमा मेरो टोलीसँग नजिकको सम्पर्कमा छु

प्रहरीले शंकास्पद विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको र उनको घरमा पनि खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् । अभियुक्त विद्यार्थी मंगलबार पनि कक्षामा गएका थिए । तर, गोली प्रहारबाट पीडित विद्यार्थीलाई लक्षित गरी हत्या गरिएको हो वा नजानेरै मारिएको हो भन्ने अहिलेसम्म स्पष्ट नभएको अधिकारीले बताए ।

मिडिया रिपोर्टका अनुसार यो वर्ष अमेरिकाका विद्यालयमा १३८ वटा गोलीकाण्ड भएका छन् । जसमा २६ पटक मानिसको मृत्यु भए पनि यस वर्ष एउटै घटनामा दुईभन्दा बढीको मृत्यु भएको छैन् । अमेरिकाको इतिहासमा गोली हानाहानको सबैभन्दा दर्दनाक घटना भर्जिनियाको ब्ल्याक्सबर्गको भर्जिनिया टेकमा भएको थियो । सन् २००७ को अप्रिलमा भएको गोलीकाण्डमा गोली चलाउने व्यक्तिसहित ३३ जनाको मृत्यु भएको थियो ।