काठमाडाैं ।सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानूनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोलाप्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको छ । “गोलाप्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रुपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्नुहुन्छ,” सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, “मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरु रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।”
प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्नुहुन्छ । दुईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ ।
दुई न्यायाधीश त्यहाँ रहनुहुन्छ । बाँकी न्यायाधीशहरुको संयुक्त इजलासका लागि तय गरिन्छ । “जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ”–उनले भने, “बिजोर गतेका दिन जुनिएर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।”
यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरु राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरु एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ । श्रीलङ्का, युरोपेली मुलुकहरुमा अटोमेसन (स्वचालित) प्रणालीको प्रयोग भएको छ ।
नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो ।