काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक तथा स्वास्थ्य उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । नेता हितमान शाक्यको नेतृत्वमा सम्मेलन व्यवस्थापन उपसमिति र प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले स्वयंसेवक र स्वास्थ्य उपसमिति पनि बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । “यो राष्ट्रिय सम्मेलन हो, महाधिवेशन होइन, हामीले उद्घाटन गर्छौं, आमसभा हुँदैन, यसले पार्टीको आगामी कार्यदिशा तय गर्छ”, उनले भने । बैठकले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ ।
हरेक प्रदेशबाट ३० र पार्टी सदस्यताका आधारमा थप प्रतिनिधिको टुङ्गो लगाउने पनि निर्णय गरेको छ । जनयुद्धका घाइते र अपाङ्गता भएकाबाट पनि सम्मेलनका लागि प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए । प्रत्येक प्रदेशबाट कम्तीमा एक घाइते तथा अपाङ्गता भएका प्रतिनिधि समावेश हुनेछन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको शुल्क प्रतिव्यक्ति रु दुई हजार तोकिएको छ ।
बैठकले पार्टी विधानमा केही विषय संशोधन गर्नुपर्ने आवश्यकता महसुस गर्दै विधान संशोधनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको उनले जानकारी दिए। सो उपसमितिमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव रहेका छन् । उपसमितिले विधान परिमार्जनको विषयलाई यही मङ्सिर २५ गतेसम्मे टुङ्गो लगाइसक्ने उनले जानकारी दिए । बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।