बैतडीमा जीप दुर्घटना हुँदा नवविवाहित दम्पतिसहित ५ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

बैतडीमा साेमबार साँझ भएकाे जीप दुर्घटनामा नवविवाहित दम्पतिसहित पाँच जनाको मृत्यु भएको छ । से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई, सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई र ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृतक मनिषा र प्रेमको दश दिन पहिले बिवाह भएको थियो । उनीहरु ससुराली जाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको हो ।

जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ । जीप सडकबाट १०० मिटर तल खसेको थियो । चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।