काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रवि सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । तीन दशक अघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील सिंहले १४ औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट उम्म्ेदवारी घोषणा गरेका हुन् ।
२०४६ सालको पहिलो जनआन्दोलन, प्रतिगतमन विरोधी कार्यक्रम, २०६२—६३ को दोस्रो जनआन्दोलनमा अत्यन्त सक्रिय रहेका सिंहले नेपाली कांग्रसका प्रभावशाली नेता तथा केन्द्रीय सभापतिका उम्मेदवार प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिने बताए । सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउँदै सिंहले जेष्ठलाई सम्मान र युवाहरूलाई प्रोत्साहित गर्दै आफू चुनावी मैदानमा होमिएको बताए ।
हाल नेपाली कांग्रेसको जनजाति विभागको केन्द्रीय सदस्यको भूमिकामा रहेका सिंह देशभरका करीब १३ हजार निर्माण व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन् ।
सङ्गठनमा बलियो पकड भएका तर्कशील तथा बौद्धिक व्यक्तित्व सिंह युवाहरूका बीच लोकप्रिय मानिन्छन् । सामाजिक संघ संस्थाहरूमा पनि सिंह उत्तिकै क्रियाशील छन् ।