काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो ।
आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।” स्थानीय र सङ्घीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गरे । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भने।