काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुट व्यवस्थापन गर्न नसक्दा सभापतिकाे प्रतिस्पर्धाबाट बाहिनुपर्याे ।
पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उनले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरे । तर उनले राजनीतिक जीवनबाट भने विश्राम नलिने बताए ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गरे । नेता पौडेलले पार्टी सत्ताको भ¥याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर सङ्घर्ष गरेको स्मरण पनि गरे ।
चौधौँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उनले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराए । उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनैरहने प्रतिबद्धता पनि व्यक्त गरे ।

