सभापतिमा देउवालाई निधि र गुरुङको पनि समर्थन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्नुहुने भएको छ ।

नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा सभापति पदमा देउवालाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ ।

उहाँले १४औँ महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनमा आफूलाई साथ दिने साथीहरु र आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । उहाँले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसक्नु भएको थियो ।