काठमाण्डौ, १ पुस । नेपाली आकाशमा एकछत्र राज गरिरहेको बुद्ध एअरले नाफामा मात्रै ध्यान दिएर जहाजको नियमित मर्मत सँम्भार नगर्दा पटक पटक दुर्घटना नजिक पुगेको छ । सोहि कारण पनि भरतपुरमा झण्डै अर्को ठुलो दुर्घटना हुन भएको थियो । चालकको चालाखीका कारणले जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएले मात्रै दुर्घटना टरेको हो । जहाजलाई भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि फेरि भरतपुरमै अवतरण गरिएको थियो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन ।
बुद्ध एअरको बीच क्राफ्ट जहाजमा १९ जना यात्रु र चालक दलका ३ सदस्य सहित २२ जना थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालकदल सबै सकुशल रहेको बताउनुभयो । जहाजमा कुनै समस्या हुन सक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ