कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य छैन : अध्यक्ष नेपाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माअ‍ेवादी केन्द्र)को आठौँ महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष नेपालले देश विकासका लागि नागरिक अधिकार प्रधान हुने विचार व्यक्त गर्दै जनताको लामो सङ्घर्षबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गरिएकाले आर्थिक समृद्धिको जनचाहनालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको इतिहासलाई अगाडि बडाउन, नयाँ नेपाल बनाउने मान्यतालाई आत्मसात गरी आवश्यक विधि विधान निर्माणमा महाधिवेशन केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।

राजनीतिक पार्टी विद्यमान गरिबी, असमानता, अन्याय, अत्याचार, विभेद, शोषणबाट जनतालाई मुक्त गर्न संवेदनशील हनुपर्ने बताउँदै उहाँले मुलुकको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने विषयमा सबै दल एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशलाई व्यवस्थित तरिकाले अगाडि बढाउन संविधानको खाँचो रहेको उल्लेख गर्दै पार्टी चलाउन विधि र विधान आवश्यक पर्ने, विधिको शासनलाई कायम राख्न लोकतात्रिन्क मूल्य मान्यता आत्मसात गर्नुपर्ने बताउनुभयो ।

राजनीतिक दलप्रति अहिले जनताको वितृष्णा बढेकाले भष्टाचारको प्रवृत्ती निमिट्यान्न पार्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अहिले हामी नयाँ नेपाल निर्माण गर्ने अभियानमा छौँ, यसका लागि नयाँ विचार अगाडि सार्नु आवश्यक छ ।

नेपाली विशेषताको समाजवाद कस्तो हुने भनेर विज्ञसँग छलफल चलाउन जरुरी छ ।” निषेधको राजनीतिले देशलाई अगाडि बडाउन नसक्ने धारणा राख्दै अध्यक्ष नेपालले विज्ञान प्रविधिको प्रयोग, गरिव वर्गलाई परिचयपत्र, राष्ट्रिय परिचयपत्र अविलम्ब वितरण गर्नुपर्ने बताउनुभयो ।