साेलुखुम्बु । सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको उक्त आयोजनामा आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएकाे बुझिएकाे छ।
सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारी हुँदै थियाे। साे अवसरमा परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् ।
मृत्यु हने इन्जिनियरहरू अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको रहेका छन्।इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा थियो ।
घटनामा घाइते भएका हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगर निवासी मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालमा ल्याइएकाे छ ।उनकाे कम्मर मुनिकाे भाग नचल्ने अवस्थामा रहेकाे जनाइएकाे छ।

