काठमाडाैं,१५ पुस । विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो ।
आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनः निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ । यही पुस मसान्त्सम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताउनुभयो । मङ्सिरमै सम्पदा पुनःनिर्माणको काम सकिएको हो ।
भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त सम्पदा ६ वर्षपछि पुनःनिर्माण गरिएको हो । विसं २०७५ वैशाख १६ गतेदेखि पुनःनिर्माणको काम समितिमार्फत सुरु गरिएको थियो ।
काष्ठमण्डप पुनःनिर्माणका लागि तराईका ६ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ ।
अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ । अन्यको तुलनामा सालको काठ बढी टिकाउ हुने भएकाले काष्ठमण्डप पुनःनिर्माणमा सालको काठ प्रयोग गरिएको शाक्यको भनाइ छ । काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो ।
‘काष्ठमण्डपका मूल चार थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ प्रयोग गरिएको छ । पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्यायाइएको अग्राखको हो । पुनःनिर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग छ । पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ ।
त्यसैगरी भूकम्पका कारण क्षति भएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । यहाँ ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शयनकक्ष, त्रिभुवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ । अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै पुनःनिर्माणको काम हुन नसकेको हो ।