काठमाडाैं । नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उनलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए । केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित भएको घोषणा गरे । माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ ।
सोही आधारमा आजको बैठकले अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको हो । समाजवादी क्रान्तिलाई अगाडि बढाउने तथा मुलुकको समग्र हितका लागि अध्यक्षमा प्रचण्ड नै उपयुक्त रहेको निष्कर्षसहित नेता शर्माले केन्द्रीय समितिमा उनको नाम प्रस्ताव गरेका थिए । केन्द्रीय समितिले ध्वनीमतका आधारमा उहाँको नाम सर्वसहमतिले पारित गरेको हो । माओवादीको शनिबार पारित भएको विधानअनुसार अब पदाधिकारी छनोटको प्रक्रिया अगाडि बढाइने भएको छ ।
माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ । विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए । बाँकी रहेका ६३ जना मनोनित हुनेछन् ।
माओवादी जनयुद्ध, जनआन्दोलन, संविधानसभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सुत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै छन् । टुटफुट तथा एकताको प्रक्रियाबाट अगाडि बढेको माओवादी आन्दोलनलाई समय सापेक्ष रूपमा अगाडि बढाउने दायित्व आफू र आफूहरूको काँधमा रहेको नवनिर्वाचित अध्यक्ष प्रचण्डले आजको सम्बोधनमा समेत उल्लेख गरे ।

