स्थानीय तहको निर्वाचनबारे सर्वदलीय बैठकमा छलफल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ ।

बिहान ११ बजेपछि सुरु हुने बैठकमा आयोगले पालिका, प्रदेश वा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाएको छ ।

बैठकमा पालिकाको चुनावको मिति तयसँगै आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव र मतदाता नामावली अद्यावधिकका बारेमा छलफल हुने आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका थिए । तर सरकारले अहिलेसम्म यसबारे कुनै निर्णय गरेको छैन । आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने जानकारी दिनुभएको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने व्यवस्था छ ।