काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहको रिक्तता कल्पना नगरेको बताएका छन् । निर्वाचनको विषयमा निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक हुने उनको भनाइ छ । सरकारले स्थानीय तहको भन्दा पहिला संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल चलाएपछि महामन्त्री थापाले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा सक्रिय थापाले असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको सरकार हरेक निर्णय गर्दा संविधानको कसीमा सही हुनुपर्ने उनको भनाइ छ । यो विषयमा काँग्रेस प्रष्ट हुनुपर्नेमा उनले जोड दिए।
‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन।अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ’, थापाले ट्वीटरमा लेख्नुभएको छ, ‘काँग्रेस प्रष्ट छ– असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

