सत्ता गठबन्धनको बैठक आज, स्थानीय तहको निर्बाचनबारे निर्णय हुनसक्ने

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाडौं १५ माघ । आगामी बैशाखमा स्थानीयतहको निर्वाचन गर्न निर्बाचन आयोगले पटक पटक ताकेता गरेपनि निर्बाचन सार्ने मनस्थितिमा रहेको सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित हुने भएको हो ।

पछिल्लो पटक संविधानसँग बाझिएका कानून संशोधनको दाबी गरेको गठबन्धनको बैठक आज शनिबार ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
हिजो शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।