आगामी महिनादेखि कुर्था-जयनगर रेल चलाउने तयारी

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् ।

रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो । रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताउनुभयो ।

“रेल्वे लिक बनेको धेरै समय भइसक्यो, रेल आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बसिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर केही दिनअघि नेपाल रेल्वे कम्पनीले रेलको परीक्षण गरेको देखेपछि रेल चल्ने आशा जागेको छ ।” सुरुमा त रेल चल्छ भन्ने विश्वासै लागेको थिएन, तर लिकमा रेल गुडेको देखेपछि आशा पलाएको उहाँको भनाइ छ । रेल चल्ने भएपछि रेल्वे लिक बनाउन आफ्नो बहुमूल्य जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताउनुभयो ।

“रेल्वे लिक बनेपछि रेल चल्छ र त्यो रेलमा चढ्न पाइन्छ भनेर आफ्नो बहुमूल्य जग्गा दिइयो”, मण्डलले भन्नुभयो, “धेरै समयसम्म रेल नचलेपछि निरास थिएँ, तर पछिल्लो समय रेल चल्ने खबर आएपछि खुशी लागेको छ ।” विसं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

‘‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भन्नुभयो, “रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ ।” दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।