माेरङ । आफ्ना तीन साझेदारहरुको हत्या गरेको आरोपमा अनिलकुमार मण्डलसहित तीन जनालाई प्रहरीले पक्राउ पश्चात् सार्वजनिक गरेको छ ।आर्थिक कारोबारमा विवाद भएपछि साझेदारहरुको हत्या गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा सिराहा नगरपालिका– २१, सिरहा घर भई काठमाडौँको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका– ४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका– ७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् ।घटनाका मुख्य आरोपी अनिल मण्डल रहेको प्रहरीले जनाएकाे छ।
उनकै योजनामा आफ्ना साझेदारहरु ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या गरिएको प्रहरीको भनाइ छ । हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका– ७ स्थित उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बुको शव भने बिहीबार ललितपुर महानगरपालिका– १२ स्थित ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।
उनीहरुले सुरुमा लिम्बुको हत्या गरेर त्यसपछि योजनाबद्ध रुपमा श्रेष्ठ र चौधरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी छ ।

