दाङको तुलसीपुर- ५ मा रहेकाे एक जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा दुई जनाकाे मृत्यु भएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा दुई जनाकाे मृत्यु भएकाे हाे । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।
विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् ।क्षतिको विवरण अझै आउन सकेको छैन ।

