काठमाण्डौ,४ माघ । प्रतिनिधी बिबादको भुमरिमा रुमल्लीएर पटक पटक निर्बाचन तालिका सार्बजनिक गर्दै स्थगित गर्दै आएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को फेरी अर्को तालिका सार्बजनिक भएको छ । आज प्रकाशित तालिका अनुसार अब आगामी चैत्र ७ र ८ अर्थात मार्च २१ र २२ मा मतदान हुनेगरी निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको हो ।
कार्यतालिका अनुसार, १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन । २३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेबु्रअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छ । त्यस्तै, २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने छ ।
निर्वाचन समितिका अनुसार ४ र ५ मार्चमा उम्मेदवारको मनोनयनपत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारी विरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
त्यस्तै, ११ मार्चमा उम्मेदवारले मनोनयन फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्च बिहान १० बजेदेखि २२ मार्च बिहान ९ः५९ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान समाप्त भए लगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए ।
सङ्घको अध्यक्षका लागि मनोनयनपत्र दर्ता दस्तुर रु १० लाख तोकिएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर शपथ ग्रहण अगाडि बुझाउनु पर्नेछ ।
एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ ।
अन्र्तराष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ ।
एनआरएनको अध्यक्ष पदकालागी हालसम्म ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन । जसमा बद्रि केसी, कुल आचार्य र रबिना थापा छन ।