काठमाडौं, ७ फाल्गुन । साँस्कृतिक, ऐतिहासिक मध्यपुरथिमि नगरपालिकाको शंखधर साख्वाः चोकमा बिभिन्न जातजातीको भेषभूषा झल्किने पहिरणमा लामबद्ध कलाकारहरुले सिंगो देश यहीँ उभिएको आभाष दिइरहेको थियो । नेवारी परिहण हाकुपटासीदेखि, तामाङ, थारु, मैथली, भोजपुरी, लगायत देशभरबाट आएका कलाकारको पहिरणसंगै प्याब्सन अन्तर्गत मध्यपुरथिमिका बिभिन्न १५ बिद्यालयबाट आएका बिद्यार्थीहरुको मध्यपुरथिमिको सडकको दाँया बाँया उभिएर सहभागी पाहुनाहरुको ताली बजाएर स्वागत गरेका थिए । नगर प्रमुख मदनसुन्द श्रेष्ठले रिबन काटेर सुरु गर्नुभएको बिभिन्न पहिरणका झाँकीसहितको र्याली बालकुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुदैँ थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भएको थियो ।
मध्यपुरथिमि नगरपालिकाको सहयोग एवं सहकार्यमा नृत्य निर्देशक संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय नृत्य दिवसको अवसरमा नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमिमा नृत्य एवं साँस्कृतिक गुरु श्रीगोपाल प्रजापतिलाई १० हजारसहित सम्मान गर्नु भयो ।
नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपालमै पहिलो पटक राष्ट्रिय नृत्य दिवस मनाउन सुरु भएको र यसलाई मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेकाले हरेक वर्ष मनाइने यो दिवसमा यस नगरपालिकालाई बिर्सन नसक्ने बताउनु भयो ।
संघका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले प्यब्सन भक्तपुरले देशभरबाट आएका कलाकार एवं नृत्य निर्देशकको स्वागत गरेको बताउदै कार्यक्रममा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारहरुको सहभागिता रहेको बताउनु भयो । शंखधर चोकबाट सुरु भएको र्यालीमा ४० जिल्लाका कलाकारहरुको झाँकी प्रदर्शन भएको, कुमारी पार्कको कार्यक्रममा ३० जिल्लाका कलाकार एवं नृत्य निर्देशनहरुको सहभागिता रहेको थियो ।