काठमाडाैं । सरकार प्रतिनिधिसभा संसदमा टेबल भएको एमसीसी सम्झौता कसरी सहजै पास गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको छ ।यसका लागि भेट्नु पर्ने र भन्नुपर्ने सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर छलफल गरिसकेका छन् ।
दोहोरो भूमिकामा रहेका सत्ता साझेदार दलहरु पनि कुर्सी बचाउन एमसीसीको पक्षमा लचक बनेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने के गर्छ भन्ने स्पष्ट भइसकेकाे छैन । एमसीसी पास गर्न सबैदल एक ठाउँमा उभिनुपर्छ भन्ने पनि छैन । साधारण बहुमतले पनि पास हुन सक्ने देखिएको छ।
उपस्थित सङ्ख्याको साधारण बहुमतबाट एमसीसी पारित हुन सक्नेछ ।नियमावलीमा कुनै पनि पद वा सङ्ख्या भनेको एक चौथाइ सदस्य सङ्ख्या हो । कुल दुई सय ७१ सदस्यीय सांसदमध्ये एक चौथाईका लागि ६८ गणपूरक सङ्ख्या हुन्छ ।
संसदको सबैभन्दा ठूला दल नेकपा एमालेका ९८ सांसद संख्या छ ।यसैगरी, सत्ता गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसको ६३, नेकपा (माओवादी केन्द्र)का ४९, नेकपा (एकीकृत समाजवादी) का २३, जनता समाजवादी पार्टी (जसपा) को २१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को १३ सांसद सङ्ख्या छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक, एक सांसद छन् ।
अहिलेसम्मको स्थिति हेर्दा सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र)र नेकपा(एस) एमसीसीको विपक्षमा उभिने प्रष्ट भएको छ।प्रतिनिधि सभाकाे बैठक पर्सी १२ गते बस्दैछ ।

