काठमाडाैं । भाेलि बस्ने संसद बैठकबाट एमसीसी पारित गराउन सरकार छलफल र भेटघाटमा जुटेकाे छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बुधबार बिहान भएको भेटमा वर्तमान अवस्थामा संसद् कसरी सुचारु गर्नेलगायत समसामयिक राजनीतिमा देखिएका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको गृहमन्त्री निकट स्राेतले जानकारी दिएको छ । गृहमन्त्री खाँणले सदनमा प्रवेश भइसकेकाे एमसीसी कम्प्याक्ट् जस्ता विषयहरु अगाडि बढाउन सदनमा विरोधको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष ओलीले आफ्ना पूरानै माघप्रति अडान राख्दै त्यसकाे सम्बाेधन भएपछि मात्र एमसीसीकाे विषयमा बारेमा साेच्न सक्ने जवाफ दिएकाे बताइएकाे छ । सरकारमा रहे कै दलले राष्ट्रको सम्पत्ति भत्काउने जस्ता गतिविधि आश्चर्यजनक रहेकोप्रति ओलीले सरकारकाे ध्यानाकर्षण गराएका थिए ।एमाले अध्यक्ष ओलीले मङ्गलबार राती प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका थिए ।
यस्तै गृहमन्त्री खाँणले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए । भेटमा गृहमन्त्री खाँणले हिजाे प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेकाे विषयमा जानकारी गराएका थिए ।माओवादीले एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसक्ने जनाउँदै आएकाे छ ।