काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् ।
रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएकाे हाे । गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको जनाएको छ ।
गुठी संस्थानले ९०० देखि ८ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । नागाबाबालाई आठ हजार र अन्यलाई ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए ।
यसैगरी कोषले पनि १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । धेरै साधुसन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधुसन्तलाई भने आज बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोषले अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ ।

