दमाैली बजारमा लागेकाे आगो ४ घण्टापछि नियन्त्रणमा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । “हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ”, खड्काले भन्नुभयो । आगलागीबाट चार÷पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो ।

साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो । सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पु¥याएको थियो ।

हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए ।