सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा भीषण आगलागी भइरहेको छ । विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द गर्नुपर्याे।अहिले हावाका कारण धुवाँ अन्यत्र बहिरहेकाले उडान भइरहेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ को नाक्चुङमा रहेकाे जङ्गलबाट गएरातिदेखि सुरु भएको आगो फैलिँदै गएकाे छ । आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर पुग्दैछ ।आगो भिरमा प्रवेश गरिसकेकाले आगाे निभाउन हेलिकप्टरको विकल्प देखिदैन ।
सीम्रिक एयरसँग मात्रै दमकलसहितकाे हेलिकप्टर रहेकाे छ ।आगलागीको कारण पत्ता लाग्न सकेको छैन। गर्मीयाम सुरू भएसँगै आगलागीका घटना देनिक बढ्न थालेकाे छ । हिजाे मात्र दमाैली बजारमा लागेकाे भीषण आगलागी हेलिकप्टरकाे सहायताले नियन्त्रणमा लिन सकिएकाे थियाे ।

