काठमाडाैं । नेपाली कांग्रेसले गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक नभएको बताएको छ ।
पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले आधिकारिक निर्णय गर्ने जानकारी दिए ।
केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने भन्दै उपसभापति खड्काले गठबन्धनका स्थानीय आवश्यकताअनुसार हुनेसमेत बताए ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको कार्यसम्पादन समितिले गठबन्धनका विषयमा धेरै चर्चा गर्न आवश्यक नभएको ठहर गरेकाले अहिले नै बोल्ने समय नभएको बताए ।
कांग्रेसले घर घर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान घोषणासमेत गरेको छ ।कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म सञ्चालन गर्ने चुनाव प्रचार अभियानका क्रममा गठबन्धनको विषयमा कुनै कुरा नगर्ने भएकाे छ ।यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताएका हुन् ।

