अब विद्युतीय उपकरण प्रयोग गर्नूस: मन्त्री भुसाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन् ।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरिन्।

ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्याससभन्दा सस्तो छ ।”

हाल एक सिलिन्डर ग्यासको मूल्य एक हजार पाँच सयभन्दा बढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य १५० रुपियाँ तथा एक लिटर डिजेलको मूल्य १३० रुपियाँभन्दा बढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन् “दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नुपर्छ ।”

ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन् ।