मोरङको लेटाङमा स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी,झडपमा एक महिला प्रहरीको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा विद्यार्थी र प्रहरी बीच भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएपछि त्यहाँ अहिले कर्फ्यू लगाइएको छ ।

स्थिति नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरङ्गी खोला देखि चिसाङ खोला सम्मको भागमा कर्फ्यु आदेश जारी गरिएको छ।

लेटाङ नगरपालिका वडा नं. ५ खेरुवा स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक जना शिक्षकले छात्रा माथी यौन दुर्वव्यवार गरेको घटनामा विद्यार्थी र प्रहरी बीच झडप भएको हो ।

झडपका क्रममा महिला प्रहरी माथि छुरा प्रहार भएको र उनको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।छात्रा माथि भएको दुर्वव्यवारको विरोधमा विद्यार्थी तथा स्थानीयहरुले विद्यालय घेराउ गरी शिक्षकलाई कुटपिट गर्न थालेपछि प्रहरीले शिक्षकलाई उद्धार गर्ने क्रममा झडप भएको थियो ।

सो क्रममा विद्यालयमा आगजनी गर्नुका साथै प्रहरी माथि ढुंगामुढा गर्दा करिब ३ दर्जन प्रहरी र विद्यार्थीहरु घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

साे घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाइ पक्राउ गरेकाे छ । घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको हो ।