चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो ।
दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।”
नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, “चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन ।”
भरतपुर महानगरपालिकामा उहाँकी छोरी रेनु दाहाल प्रमुख हुनुहुन्छ । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उहाँ निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।

