काठमाण्डौ, १६ चैत्त । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएकोले
नेपाल आयल निगमले पुनः मुल्य बृद्दीको सँकेत गरेको छ ।
निगमले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र सवारी साधनमा जोररबिजोर प्रणाली लागू गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
हिजो न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर गइरहेको र प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा मात्रै दैनिक ३१ करोड रुपैयाँ घाटा भइरहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको खपतलाई कम गर्न निगमले गएको चैत १३ गते १० बुँदे सुझाव दिएको पनि जानकारी दिनुभयो ।
उपाध्यायका अनुसार निगमले पेट्रोलियम पदार्थमा भन्सार शुल्क घटाइदिनुपर्ने, मूल्य समायोजन गर्न दिनुपर्ने, डिजल र पेट्रोलको खपत कम गर्न विद्युतीय साधन प्रयोग गर्न लगाउन सार्वजनिक आह्वान गर्न सरकारसँग आग्रह गरेको छ ।
अहिले निगमलाई एलपी ग्यासमा मासिक दुई अर्ब ५० करोड घाटा भइरहेको र अब आउने मूल्य समायोजनपछि घाटा बढेर तीन अर्ब रुपैयाँसम्म पुग्ने निगमको अनुमान रहेको छ
शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने, छोटो दुरीका सवारी साधनको सकभर प्रयोग नगरि पैदलयात्रा गर्ने र जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिइएको छ ।
प्रवक्ता उपाध्यायले भन्नुभयो, ‘इन्धनको खपत घटाउनलाई हप्तामा एक दिन सार्वजनिक बिदा दिएको ठाउँमा दुई दिन गर्न सकिन्छ । जोररबिजोर प्रणालीमा गयौँ भने अहिले भइरहेको खपत आधा घट्छ । होटलहरूले एलपीको सट्टा बिजुली प्रयोग गराउने, ठूलो सवारी साधनबाट ओहोरदोहोर गराएर व्यक्तिगत सवारी साधनलाई केही समय रोक्ने हो भने खपत घट्छ ।’
त्यस्तै निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको असर नेपालमा पनि परिरहेको स्पष्ट पारेको छ । प्रवक्ता उपाध्यायले पछिल्लो समय झन्डै २२ देखि २५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको मासिक खपत हुने गरेको र खरिद मूल्य तिर्न मासिक १० अर्ब रुपैयाँ अपुग भएको पनि बताउनुभयो । उहाँले दिनप्रतिदिन बढिरहेको घाटाका कारण निगमलाई नगद प्रवाह गर्न नै समस्या परिरहेको पनि उल्लेख गर्नुभयो ।
प्रवक्ता उपाध्यायले अहिले निगमलाई एलपी ग्यासमा मासिक दुई अर्ब ५० करोड घाटा भइरहेको र अब आउने मूल्य समायोजनपछि घाटा बढेर तीन अर्ब रुपैयाँसम्म पुग्ने निगमको अनुमान रहेको बताउनुभयो ।
त्यस्तै निगमले पेट्रोलियम पदार्थको भन्सार शुल्क प्रतिलिटर १५ रुपैयाँ घटाइदिन पनि आग्रह गरेको छ । अहिले नेपाल आयल निगमसँग ६८ हजार किलोलिटर भण्डारण क्षमता छ भने लगभग ८० प्रतिशत भण्डारण छ ।

