सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।

नेपाली काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गरे। उनले नेपाली काँग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बताउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गरे ।

उनले भने, “मुलुकको विकासको लागि सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण छ, अब निर्वाचन सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने छ ।”

प्रधानमन्त्री देउवाले गठनबन्धनलाई निरन्तरता दिने पार्टीको निर्णय सुनाउँदै यही गठबन्धनलाई अझै बढी बलियो र एकताबद्ध बनाएर लैजाने बताए । उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे।

प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचारले सबै सञ्चार माध्यमको विश्वसनीयता सङ्कटमा पर्दै जाने बताउँदै सत्यतथ्यमा आधारित भएर पत्रकारिता गनुपर्ने आवश्यकता औँल्याए ।

मिडिया स्वाभावैले आवाज विहीनको आवाज भएका कारण पनि मिडियालई राज्यको चौँथो अङ्ग भनिएको उल्लेख गर्दै अन्य विकसित देशमा जस्तै नेपालमा पनि मिडियाले विभिन्न नीति परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।