भक्तपुरकाे प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु

NewsBankNepal News/समाचार , ३ वर्ष अगाडि


जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ ।

जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।

रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । जात्राको दोस्र्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ ।

पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्षे उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न नमिल्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् भन्ने मान्यता छ ।

लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ । त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ । बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पु¥याई एकाापसमा जुधाइन्छ । जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ । यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ । आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ । यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ । जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । रासस