जग्गा खरिद गर्दा जान्नै पर्ने कुराहरु

Dipak Pudasaini Latest Update , बिचार , ४ वर्ष अगाडि

गोबिन्द कुइँकेल

काठमाण्डौ, ११ बैशाख । उपत्यकामा हिजोआज जग्गाको मूल्य अकल्पनिय रुपमा बढ्दै छ । जग्गा खरिद गर्दा स साना कुरामा ध्यान नदिदा दुःख र मेहेनतले कमाएको पैसा डुब्न वा मुद्दामामिलामा फस्न सक्ने सँम्भाबना धेरै हुन्छ ।
जग्गा किन्दा सर्बप्रथम आफूले चाहेको लोकेशनको जग्गा कुन कित्ता कुन गाबिस तथा नक्सा नम्बरमा छ स्पष्ट हुनु जरुरी छ । कित्ता भन्नाले एउटै किसिम एउटै जग्गाधनि एउटै मोही भएको जग्गा हो, जसलाई अंकमा नम्वरबाट अंकित गरिन्छ । यसकालागी सम्बन्धित नापीकार्यालयबाट बुझ्न सकिन्छ ।
सो नम्वरको जग्गा के कति छ कस्को नाममा छ कस्तो जग्गा हो रोक्का छ कि छैन आदि कुराभने मालपोत कार्यालयमा रहेको श्रेस्ताबाट जानकारी लिन सकिन्छ ।

कित्ताकाट भन्नाले नापनक्सा भएको वा हक हस्तान्तरण भएर आएको जग्गालाई खण्डीकरण गरि दुई वा दुई भन्दा बढि टुक्रा बनाउनुलाई जनाउछ ।
कित्ताकाट गर्ने क्रममा कसैले १ रोपनीबाट ४ आना जग्गा लिन चाहेमा मालपोत कार्यालयमा गई लिखत तयार गरि मोठ रोक्का भिडाई कित्ताकाटको आदेश तर्फ र क्षेत्रफल समेत खुलाई नापी कार्यालयमा पठाई नापीमा लिखत दर्ता गरि कित्ताकाट गरि पुरानो कित्ता नम्वर मारी पून १ को २ कित्ता नम्वर जन्माई जन्मेको पहिलो नम्बर खरिदकर्तालाई र पछिल्लो कित्ता नम्बर बिक्रिकर्तालाई दिई कायम गरि ट्रेस तयार गरि सो ट्रेसमा लिने दिनेको रोहबरमा दस्तखत गरी मालपोत कार्यालयमा लगी पून नयां श्रेस्ता पूर्जा तयार हुन्छ । यसरी जग्गाको अध्याबधिक गर्ने काम मालपोत कार्यालयबाट हुन्छ । कित्ता मिलान गर्ने काम नापी कार्यालयबाट हुन्छ ।

जग्गा किन्नेले बुझ्नु पर्ने कुराहरु
जग्गा किन्छु मात्र भन्नु पर्छ जग्गा मिलाउनेहरु कमिसनको लोभमा पूर्जाको फोटोकपी लिएर घरमै आईपुग्छन । कस्तो जग्गा किन्दै हुनुहुन्छ तल उल्लेखित कुरा बुझनु अनिबार्य छ । हामीले खरिद गर्ने जग्गा निजी वा रैकर वा गुठीको मात्र हो ।

जग्गाको प्रकार
१ निजी जग्गा
२ सरकारी जग्गा
३ सार्बजनिक जग्गा
४ सामुदायिक जग्गा
५ गुठी अधिनस्थ जग्गा
१ निजी जग्गाः आफ्नो बाबू बाजे बाट नामसारी भै आएको वा आफुले खरिदगरी लिएको लाजपूर्जा आफ्नो नाममा भएको जग्गा जसलाई बोलचालको भाषामा नम्बरी वा रैकर पनि भन्ने चलन छ ।
२ सरकारी जग्गा ः नेपाल सरकारको स्वामित्व हक नियन्त्रण र अधिनमा रहेको जग्गा जस्तै सरकारी भबन,सडक,कूलो, बाटो, नदि, पर्ती,बन जंगल, जंगलका रुख, हिमाल,भिर, पहरा, वगर आदि ।
३ सार्वजनिक जग्गा ः सार्वजनिक प्रयोजनको लागीप्रयोग हुने जग्गा जस्तै पानी घाट, कुवा, पधेरो, मसानघाट, बाटो, गौचरण, मन्दिर, मस्जिद, पोखरी, टुडीखेल आदि ।

४ सामुदायीक जग्गा ः कुनै समुदायले सनमुदायीक प्रयोजनका लागि छुट्याईएको जग्गा ।

५ गुठी अधिनश्थ जग्गा देबी देबताको पूजा पर्व जात्रा चलाउन मठ मन्दिर देबस्थल आदिजस्ता धार्मिक स्थल वा अन्य सामाजिक परोपकारी र सास्कृतिक कार्यको लागि दाताले हक छोडी राखिदिएको सम्पत्तीलाई गुठी भनिन्छ । सामन्यतया नेपालमा २ प्रकारका गुठी छन ।
१ राज गुठी
२ निजी गुठी
१ राजगुठी ः कुनै समय सरकारले बन्दोबस्त र संचालन गरि आएको र पछि गुठी संस्थानलाई हक र दायित्व सरेर संस्थानले संचालन गरेको गुठी राज गुठी हो ।
यो पनि २ प्रकारका छन ।
क. अमानत गुठी ः सम्पूर्ण आयस्ता गुठी कोषमा जम्मा गरी खर्चपनि सोही कोषबाट बिनियोजित वजेटबाट हुने गुठी अमानत गुठी हो ।
ख. छुट गुठीः (गुठीको आयस्ता गुठीयार आफैले उठाई लिखत तथा परम्परा बमोजिम गुठीको पर्व पूजा जात्रा चलाई बांकी रकम राजगुठीमा बुझाउने वा गुठीयार आफैले खान पाउने गरी छुट पाएका गुठीलाई छुट गुठी भनिन्छ ।
२ निजी गुठीः राजगुठीको नाममा दर्ता नरहेका ब्यक्ति आफैले स्थापना र संचालन गर्दै आएका ब्यक्तिगत वा पारिबनरिक गुठीलाई निजि गुठी भनिन्छ । आजभोली यस्ता सम्पत्तीको खरिद बिक्रीमा सरकारले रोक लगाएको छ ।
जग्गा खरिद गर्दा ध्यान दिनु पर्ने कुराहरु

१ खरिद गर्न लागेको जग्गा कस्तो हो रैकर वा गुठी प्रष्ट संग बुझ्ने । किनकी गुठीको जग्गाको खरिद मोहीको हक मात्र खरिद हुने हुंदा मुल्य प्रचलित रैकरको भन्दा आधा कम हुन्छ ।
२ जग्गाको फिल्ड र नापी कार्यालयमा भएको नक्सा भिड्छ भिड्दैन नाप नक्सा गराई हेर्ने । साँंध सँधियारको उपस्थितीमा नापनक्सा गरी जग्गाको सिमानामा पक्की संरचना लगाउन लाउने ।
३ मालपोत कार्यालयमागई रोक्का छ छैन श्रेस्ताको अबस्था के कस्तो छ बुझ्ने ।
४ बिक्रेताको अंशियार हकवालाले बेच्न चाहेको हो होईन बुझ्ने हकवाला लाई लिखतको साक्षी महलमा सहि गराउने ।
५ जग्गा खरिदमा आफूले तिरेको थैली रकम कै कर तिर्ने नघटाउने दुइचार पैसा कर तिर्न लोभ नगर्ने ।
यती कुरा बिचार पुर्याएर जग्गा खरिद गर्दा पछि झण्झट ब्यहोर्नुपर्ने सम्भाबना कम हुन्छ ।

लेखक नापी कार्यालय साँखुको कार्यालय प्रमुख हुनुहुन्छ ।