काठमाडाैं ।आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।जनआन्दोलनबाट संसद् पुनर्स्थापना भएको सम्झनामा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भएको थियो । २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनर्स्थापना गरेका थिए ।
२०६३ साल जेठ ४ गतेको संसद्ले राजाको अधिकार कटौती गर्याे । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान सभाको चुनाव गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । त्यस अनुरूप २०६४ साल चैत २८ गते पहिलो संविधान सभा चुनाव भयो । संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो ।
२०७० साल मङ्सिर ४ गते दोस्रो संविधान सभा चुनावबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । अहिले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको मुख्य जग वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
आम जनताले अहिलेसम्म लाेकतन्त्रकाे सच्चा अनुभूति गर्न पाएका छैनन् । अहिले दाेस्राे पटक स्थानीय तहकाे निर्वाचन हुँदैछ । याे १६ वर्षमा आम जनताले आफ्नाे जीवनमा देखिने परिवर्तन खासै पाउन सकेनन् ।
सुशासन र विकास नारामै सिमित बनेकाे देखिन्छ । हामी प्राप्त गर्नुपर्ने आधारभूत कुराहरू पनि कमै प्राप्त गरेका छाैं । भ्रष्टाचार र अनियमितता उस्तै रहेकाे जनताकाे गुनासाे छ । सत्तामा घुमिरहेकाे राजनीतिक नेतृत्वले जुन सपना देखाएर आन्दाेलन गराएका थिए ती अझै पूरा भएका छैनन् । राजनीतिक परिवर्तन भएर मात्र लाेकतन्त्रकाे अनुभूति नहुने रहेछ।
राजनीतिक नेतृत्वमा शासक भन्ने प्रवृतिलाइ हटाएर सेवक वन्ने प्रवृतिकाे सुरूवात नभएसम्म जतिपटक आनदाेलन आन्दाेलन गरे पनि परिणाम यही भाेग्नुपर्ने राजनीतिका जानकारहरू बताउँछन् ।

