काठमाडाैं । नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो ।
दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि सङ्गठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना गर्नुभयो । उहाँले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो सङ्गठनलाई दृढतापूर्वक डोहो¥याउने काम हुने अपेक्षा रहेको बताउनुभयो ।
नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले भन्नुभयो, “प्रहरी चौकीको र इलाका प्रहरीको स्तरोन्नतिको मागलाई हेर्दा नेपाल प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पु¥याउनुपर्ने आवश्यकता छ ।” उहाँले दुवै सङ्गठनको पुनःसंरचना र जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।
परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्नुपर्ने र आधुनिक प्रकृतिका अपराध विकास भइरहेकाले त्यसको नियन्त्रण र चुनौतीको सामना गर्न सक्षम प्रहरी सङ्गठन निर्माण, स्वस्थ्य सामाजिक संस्कार र सभ्याताको विकासका लागि प्रहरी सङ्गठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले औँल्याउनुभयो ।
गृहसचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्गठनमा क्षमतावान् प्रतिस्पर्धी जनशक्ति भित्र्याउनका लागि सक्षम जनशक्ति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गृहसचिव पाण्डेले सङ्गठनभित्रका आन्तरिक विकृति विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । गृहसचिव पाण्डेले सुरक्षाका लागि विकास र विकासका लागि सुरक्षा आवश्यक हुने भएकाले यी दुई विषय अन्तरसम्बन्धित रहेको र एकीकृतरुपमा अघि बढाउनुपर्ने सन्दर्भमा सँगसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

