काठमाडाैं । देशका विभिन्न स्थानमा शान्तिपूर्ण तवरमा मतदान भइरहँदा कतिपय स्थानमा भने दुइपक्षबीच झडप भएकाे छ। झडपलाइ नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाईफायर गर्नुपरेकाे छ ।
हुम्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा दुइ पक्षबीच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते भएका छन् । गठबन्धन दल पक्ष र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीबीच झडप भएकाे हाे ।
सामान्य विवादपछि झडपले उग्र रुप लिएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाईफायर समेत गरेको छ । झडपमा मतदान केन्द्रमा खटिएका कर्मचारी काला रावत, स्थानीयबासी लिला शाही घाइते भएका छन् । घाइतको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ ।
घटनापछि केही समयका लागि मतदान कार्य स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए।
यस्तै, बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।
उता,सर्लाहीको धनकौल गाउँपालिकाकाे वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको छ ।धनकौलमा मतदान केन्द्र राख्ने विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।
यस्तै, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
यस्तै धनुषाको शहीदनगर नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ ।

