काठमाडाैं । नेपाल आयल निगमले निर्वाचन लगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमले आज राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरमा एकैचोटी १०/१० रुपैयाँले मूल्य बढाएको छ।
यससँगै अब पेट्रोल लिटरको १७०, डिजेल/मट्टीतेल १५३ रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल लिटरको १६० र डिजेल/मट्टीतेल १४३ रुपैयाँ थियो। लिटरमा एकैचोटी १० रुपैयाँले मूल्य बढेको यो पहिलोपटक पनि हो।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत नै राखेको निगमले जनाएको छ। एलपी ग्यास अहिले प्रतिसिलिन्डर १६०० रुपैयाँ छ भने हवाई इन्धन लिटरको आन्तरिकतर्फ १५६ रुपैयाँ र वाह्यतर्फ १.५४५ अमेरिकी डलर छ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा खरिद मूल्य नै उच्च भएपछि यस अनुसार मूल्य बढाएको निमगले जनाएको छ।
निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब रु पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
.jpg)

